कालिका मावि, पोखरा

अपडेट

Wednesday, February 25, 2026

कालिका माविबाट एसइई दिने विद्यार्थीलाई बिदाइ र शुभकामना (फोटो र भिडियोसहित)

February 25, 2026 0

 

पोखरा । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने तयारीमा रहेका विद्यार्थीहरूलाई बुधवार (२०८२/११/१३) बिदाइ तथा शुभकामना कार्यक्रम गरिएको छ ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रम सोही कक्षाका विद्यार्थी सन्दिप विकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले कालिकाले विद्यार्थीको हितका लागि प्रयास गर्दै आएको बताए । उनले गत वर्षहरूमा कालिकाले कायम गरेको एसइईको उत्कृष्ट नतिजालाई थप सुधार गर्नका लागि विद्यार्थीहरूलाई शुभकामना दिए ।

विशेष अतिथि शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले एसइईपछि विद्यार्थीहरूको नयाँ जीवन सुरु हुने भन्दै नयाँ जीवनलाई नयाँ ढङ्गले सुरु गर्नका लागि विशेष मिहिनेत गर्न सुझाव दिए ।

विद्यालयकी सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरले शिक्षक र विद्यालयले विद्यार्थीको हितका लागि गरेको प्रयासलाई सार्थक बनाउन विद्यार्थीहरूको विशेष भूमिका रहने बताइन् ।

कक्षा १० की छात्रा सफला सुनारले विद्यालय दिएको वातावरण अविस्मरणीय रहने बताउँदै विद्यालयले गरेको मार्गदर्शनले जीवनभर प्रेरणा दिने बताइन् ।

कक्षा ९ की छात्रा कृतिका केसीको सञ्चालनमा भएको कार्यक्रममा कक्षाकी छात्रा प्रेमिका तामाङले स्वागत गरेकी थिइन् । यस वर्ष कालिका माविबाट १३ जना सहभागी हुँदै छन् । 


पूरा पढ्नुहोस्>>>>

Thursday, January 22, 2026

कालिका माविको ४३ औँ वार्षिकोत्सव सम्पन्न

January 22, 2026 0

 


पोखरा, माघ ८ गते । पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपभुन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिवभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद भीम कार्कीले सामुदायिक विद्यालयको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । कालिकाले शैक्षिक क्षेत्रमा गरेको उन्नतिको प्रशंसा गर्दै कार्कीले आफ्नो तर्फबाट विद्यालयका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयासमा लागिरहेको जानकारी दिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र शिक्षक गङ्गाराम विश्वकर्मालाई ‘कालिका वर्ष सम्मान २०८२’ प्रदान गरिएको थियो । त्यसै गरी विद्यालयमा अक्षयकोष खडा गर्ने १४ जना अक्षयकोषदाताहरू, एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू तथा उत्तीर्ण विद्यार्थी र विद्यालयलाई सहयोग गर्ने १४ जना पूर्वविद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, अक्षयकोषका संस्थापक दिनेश आचार्य, शिशुकल्याण माविका प्रधानाध्यापक सुदन पौडेल, सामाजिक परीक्षण समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठ, विद्यार्थी कृतिका केसीलगायतले शुभकामना दिएका थिए । सो अवसरमा अतिरिक्त क्रियाकलाप, अभिभावक खेल र शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पूर्वअध्यक्ष सोमबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, हिरामान श्रेष्ठ, पूर्वप्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य ज्योति गुरुङ, खिमबहादुर खत्री, लोकनाथ पौडेल, शिक्षक अभिभावक सङ्घका सदस्य कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापा मगर, शिक्षक विश्वराज बास्तोला र यज्ञबहादुर बानियाले गरेका थिए ।

 

पूरा पढ्नुहोस्>>>>

Sunday, November 23, 2025

कालिकामा प्रतिभा प्रस्फुटन प्रतियोगिता (फोटो फिचर)

November 23, 2025 0

पोखरा, मङ्सिर ७ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्थापन गरेका थिए ।

प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै आधारभूत तह (कक्षा १–३) तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । 

यसै गरी सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तहमा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए । कक्षा ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगिताका निर्णायकहरूमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक रहेका थिए । विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।




























पूरा पढ्नुहोस्>>>>

Post Top Ad