कालिका मावि, पोखरा

अपडेट



Saturday, July 5, 2025

शतप्रतिशत उत्तीर्ण कालिका माविका विद्यार्थीलाई सम्मान (फोटो फिचर)

July 05, 2025 0

 


पोखरा, असार २१ गते । पोखरा–३३, आँपुभन्ज्याङबाट २०८१ को एस. ई. ई. सम्मिलित विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् । शतप्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीलाई शुक्रवार आयोजित एक कार्यक्रममा विद्यालयले सम्मान गरेको छ । कालिकाबाट १४ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा  महानगरपालकिा, वडा नम्बर ३३ का वडा सदस्य प्रकाश कार्की, प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अध्यक्ष पुनलगायतले सम्मान गरेका थिए । विद्यार्थीहरूलाई बधाई दिँदै वडा सदस्य कार्कीले कालिकाले हासिल गरेको उपलब्धी समग्र ३३ नम्बर वडाकै गौरवको विषय भएको बताए । उनले जति ठुलो सफलता हासिल गरे पनि अनुशासनमा रहेर आफ्नो कर्मलाई अगि बढाउन विद्यार्थीहरूलाई सुझाव दिए । विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र आफ्नो परिवारले गरेको मिहिनेतको सधैँ स्मरण गर्नुपर्नेमा जोड दिँदै कार्कीले एसइईको सफलताले नयाँ मार्गप्रशस्त गरेको बताए ।

विव्यसका अध्यक्ष गङ्गाबहादुर पुनले विद्यार्थीको हितका लागि विव्यस सधैँ लागिपरेको बताउँदै प्रयासले सार्थकता प्राप्त गरेकामा खुसी व्यक्त गरे । आगामी दिनमा पनि विद्यालय र विद्यार्थीको हितका लागि आफूहरू सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले सफलताका लागि मिहिनेत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद दिए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा प्रस्फुटनका लागि गरेको प्रयत्नको फलस्वरूप उत्कृष्ट नतिजा हासिल गरेको बताए । उनले पाठ्यपुस्तकका अतिरिक्त विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि आफ्ना कार्ययोजना अगि बढाएको जानकारी दिए ।

विद्यार्थी प्रमिसा बानियाले विद्यालयले दिएको सकारात्मक ऊर्जाकै कारण सकारात्मक नतिजा प्राप्त भएको अनुभव सुनाइन् । अर्का विद्यार्थी सङ्गम श्रेष्ठले आफूले शिक्षकहरूबाट लिएको ज्ञानका अतिरिक्त विभिन्न प्रविधिका माध्यमबाट गरेको स्वाध्ययनले राम्रो अङ्क ल्याउन सहयोग गरेको बताए । सोही अवसरमा कक्षा १० मा अध्यापन गर्दै आएका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।

सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका सदस्य बेलबहादुर केसी, शिक्षक नारायणप्रसाद चापागाईँ, पूर्व सहायक प्रधानाध्यापक गोपीराज अधिकारीलगायतले शुभकामना दिएका थिए ।





























































पूरा पढ्नुहोस्>>>>

Post Top Ad